स्ववियु निर्वाचनको तयारी तीब्र, आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौं,२० फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीलाई तीव्रता दिएको छ।

निर्वाचनको प्रक्रिया अन्तर्गत सोमबार साँझसम्म विभिन्न विद्यार्थी संगठनहरूले त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आफ्नो संगठन दर्ता गराएका छन्। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार यस पटक धेरै क्याम्पसहरूमा निर्वाचन हुने सम्भावना छ।

निर्वाचन कार्यतालिका अनुसार आज फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिनेछ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले सबै क्याम्पसमा आफ्नो संगठनको मनोनयन दर्ता गरिएको जानकारी दिएका छन्। नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले पनि सबै क्याम्पसमा संगठन दर्ता गरिएको बताएका छन्। अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव रोशन मगरका अनुसार देशभर निर्वाचन हुने क्याम्पसहरूमा संगठन दर्ता गरिएको छ।

त्रिविले यसअघि नै ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका’ र आचारसंहिता जारी गरिसकेको छ। चैत ५ गते त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा एकसाथ स्ववियु निर्वाचन हुनेछ। निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू हुनेछ।