घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला
काठमाडौँ, २० असोज । दसैँको समयमा यात्रुको आवागमन सहज बनाउन घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला गरिने भएको छ।
यातायात व्यवस्था विभागमा आज नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत सरोकारवालाबीच बसेको बैठकले दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो।
बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो।
सडकको अवस्थालाई ध्यानमा राख्दै सवारी सञ्चालनका क्रममा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइने र त्यसपछि मात्रै अन्य सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइने उहाँले बताउनुभयो।
दसैँमा ठूलो सङ्ख्यामा यात्रु राजधानीलगायत सहरी क्षेत्रबाट गाउँघर जाने भएकाले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक तयारी अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका महानिर्देशक राजीव पोखरेलले यात्रुले अनावश्यक दुःख पाउन नपरोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको बताउनुभयो।
दसैँका समयमा हुने यात्रुको चापलाई ध्यानमा राख्दै यातायात सञ्चालन, टिकट व्यवस्थापन, सडकको अवस्था तथा यात्रुको सुरक्षामा विशेष ध्यान दिइने विभागले जनाएको छ।
