पोखरामा पाँच ऐतिहासिक कोट समेटेर अल्ट्रा ट्रेल दौड हुने

काठमाडौँ, असोज २० । कास्कीका पाँच ऐतिहासिक कोटलाई समेटेर आगामी आइतबार ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस-२०८३’ आयोजना हुने भएको छ।

नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको आयोजना तथा नेपाली सेनाको विजयपुरस्थित पश्चिम पृतना हेडक्वाटरको विशेष सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा करिब दुई सय धावक सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका ‘रेस डाइरेक्टर’ तेज गुरुङका अनुसार दौडमा कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई समेटिएको छ। यसले खेलसँगै पोखराको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

५० किमिको दौड पोखरा महानगरपालिका २४ स्थित कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, झुप्राङकोट, अर्मलाकोट र काहुँकोट हुँदै पोखरा ११ स्थित नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर सम्पन्न हुनेछ ।

५० किमि दौडमा सहभागी हुन नसक्ने धावकका लागि १६ किमिको दौडसमेत आयोजना गरिने भएको छ । उक्त दौड कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, हरिचोक, सिम्पानीचोक, पृथ्वीनारायण क्याम्पस, नारायणथान हुँदै फूलबारी ब्यारेकमा पुगेर समाप्त हुनेछ ।

५० किमि दौडको महिला तथा पुरुषतर्फ प्रथम हुनेले एक लाख ५० हजार रुपियाँ, दोस्रोले एक लाख रुपियाँ, तेस्रोले ७५ हजार रुपियाँ, चौथोले २५ हजार रुपियाँ र पाँचौँले १५ हजार रुपियाँ नगदसहित पदक तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।

१६ किमितर्फ प्रथम हुनेलाई २५ हजार रुपियाँ, दोस्रोलाई १५ हजार रुपियाँ, तेस्रोलाई १० हजार रुपियाँ र चौथोलाई पाँच हजार रुपियाँ नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । दौड पूरा गर्ने सबै धावकलाई ‘फिनिसर्स मेडल’ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १८ वर्ष उमेर पुगेका धावकले मात्र भाग लिन पाउनेछन्। असोज २२ गते दिउँसो ४ बजेसम्म नाम दर्ता गर्न सकिनेछ। हालसम्म केही विदेशी धावकसहित ५० भन्दा बढीले नाम दर्ता गरिसकेको र नेपालका चर्चित अल्ट्रा धावकको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *