धनगढी उपमहानगरपालिका फोहोर बेचेर मालामाल, ४५ लाखभन्दा बढी आम्दानी
कैलाली,२१ फागुन । धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले फोहोर बिक्री गरेर ४५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ।
कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरी बिक्री गरेर उपमहानगरपालिकाले मनग्य आम्दानी गरेको हो।
केन्द्रले गत आर्थिक वर्षमा २५ लाख ५५ हजार रुपैयाँ र चालु आर्थिक वर्षको आठ महिनामा २० लाख रुपैयाँ आम्दानी गरेको छ।
उपमहानगरपालिकाका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार, उपमहानगरपालिकाले २०८० साउनदेखि सञ्चालनमा ल्याएको केन्द्रलाई चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्कामा दिएको छ। धनगढीको नन्दादेवी सेवा केन्द्रलाई २०८१ देखि २०८६/८७ सम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ। ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले रकम वृद्धि गर्नेगरी सम्झौता भएको छ।
उपमहानगरपालिकाका १९ वडामध्ये हाल नौ वटा वडाबाट दैनिक २१ टन फोहोर सङ्कलन गरिन्छ। केन्द्रले फोहोर वर्गीकरण गरी बिक्री गर्ने गरेको छ। बाँकी १० वटा वडामा सरसफाइ अभियानमार्फत व्यापारिक केन्द्रमा डस्बिन राखेर फोहोर सङ्कलन भइरहेको छ।
प्लास्टिक, फलाम, टिन, आल्मुनियम, रबर, जुत्ता, कागज सबै अलगअलग वर्गीकरण गरेर बिक्री गरिन्छ। सङ्कलित फोहोरमध्ये ७० प्रतिशत पुनः प्रयोगमा ल्याइने गरिएको छ। कुहिने फोहोरबाट बायोग्यास पनि निकालिने गरिएको छ।
धनगढी बजार र अन्य वडाका बस्तीबाट २१ वटा ट्रयाक्टरमार्फत फोहोर सङ्कलन गरी केन्द्रमा कागज, प्लास्टिक, धातु, कपडा, सिसा, काठ, दाउरा, विभिन्न किसिमका तार, रेडियो, टिभी, मोबाइल लगायतका सामग्री छुट्याइन्छ। वर्गीकरण केन्द्रमा फोहोर टुक्र्याउन र दबाउन तीनवटा मेसिन राखिएका छन्।
उपमहानगरपालिकाले १५ वर्षका लागि वार्षिक एक लाख २५ हजार रुपैयाँ भाडा तिर्ने गरी दुई बिघा जमिन भाडामा लिएको छ र ३० लाख रुपैयाँ लगानीमा केन्द्र सञ्चालन गरेको छ। केन्द्रमा १४० जनाले रोजगारी पाएका छन्।
बजारबाट सङ्कलित फोहोर धनगढी, विराटनगर, भैरहवा, दाङलगायतका बजारमा बिक्री गरिन्छ। देशभरका स्थानीय तहका जनप्रतिनिधिहरू केन्द्रको अवलोकनका लागि आउने गरेका छन्।
