माओवादीले हिंसात्मक बाटो रोज्दा मुलुकको विकास २५ वर्ष पछाडि धकेलियो : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ,२१ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादीले हिंसात्मक बाटो रोज्दा मुलुकको विकास २५ वर्ष पछाडि धकेलिएकाे बताउनुभएकाे छ ।

यदु स्मृति प्रतिष्ठानले आयोजना गरेको २६औँ यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपाली जनताले सामन्तवाद र राजतन्त्रलाई ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरी देशमा शान्तिपूर्ण राजनीतिक परिवर्तन गरेको बताउँदै नेकपा (माओवादी) ले भनेको जनयुद्ध हिंसात्मक भएकाले गलत भएको टिप्पणी गर्नुभयाे ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले माओवादीले रुकुम–रोल्पाबाट थालेको हिंसात्मक गतिविधिको छाप अझै मुलुकमा रहेकाले त्यसबाट देशलाई मुक्ति दिलाउने दायित्व सबैको भएको बताउनुभयाे। नेकपा (एमाले) र नेपाली कांग्रेसले शान्तिपूर्ण क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको उदाहरण दिँदै उहाँले भन्नुभयाे, हामीले मत खसालेर राजा फालेको इतिहास छ।

उहाँले हिंसात्मक गतिविधि सञ्चालन गरेको विषयलाई माओवादीले आत्मसाथ गर्नुपर्ने धारणा राख्नुभयाे। पछिल्लो समय हिंसाको अर्को आवरणको रूपमा सामाजिक सञ्जालको गलत प्रयोग भई समाजमा विकृति मौलाएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे। “सामाजिक सञ्जालको प्रयोग गरी भइरहेको हिंसात्मक गतिविधि रोकथाम गर्नु राज्यको दायित्व भएकाले धार्मिक सहिष्णुता, जातीय एकता, सामाजिक सद्भाव कायम गर्न सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन बनाउन लागेका हौँ,” उहाँले भन्नुभयाे।

मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जाललाई दुरुपयोग गरेर कुनै व्यक्ति, जाति, सम्प्रदाय, धर्म, संस्कृति र भाषामाथि गरिने हिंसात्मक अभिव्यक्ति रोकथाम गर्न सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक ल्याउन लागेको हो। लोकतान्त्रिक विधि, मूल्यमान्यताको उपज भएकाले अभिव्यक्ति एवं प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने अहिलेको सरकार अराजकता र अस्थिरताको विरुद्ध रहेको उहाँले स्पष्ट पार्नुभयाे ।

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले जनयुद्धका नाममा नेकपा (माओवादी) ले हिंसात्मक बाटो रोज्दा ठूलो धनजनको क्षति भई मुलुक पछि परेको बताउनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *