विदेशको जागिर छोडेर गाउँमै पशुपालन र मौरीपालनमा मनराजको सफलता

सुनसरी, २३ फागुन । एक दशक लामो वैदेशिक रोजगारीलाई बिट मार्दै सुनसरीको इटहरीका मनराज पुरी अहिले व्यावसायिक पशुपालन र मौरीपालनमा रमाएका छन्।

विदेशमा कमाएको पैसालाई सदुपयोग गर्दै उनले सुरु गरेको यो व्यवसाय अहिले उनको राम्रो आम्दानीको स्रोत बनेको छ।

इटहरी उपमहानगरपालिका-१९ का मनराज आठ वर्ष साउदी अरब र मलेसियामा पसिना बगाएर स्वदेश फर्किएका हुन्। सानो लगानीबाट गाई, बाख्रा पालन सुरु गरेका उनले पछि मौरीपालन पनि थाले। “विदेशमा दुःख गरेर कमाएको थोरै पैसालाई आफ्नै देशमा लगानी गरेर केही गरौं भन्ने सोच थियो,” मनराजले भने, “अरु व्यवसाय गर्ने तरिका थाहा नभएपछि पशुपालनबाट सुरु गरेँ।”
१७ वर्षको उमेरमा बाबुआमा गुमाएका उनले विदेशमा भन्दा आफ्नै देशमा काम गर्दा सन्तुष्टि मिलेको बताए।

“यो व्यवसायले मलाई आत्मनिर्भर बनाएको छ। आफ्नो व्यवसायले दिने आनन्द अरूको नोकरीमा पाइँदैन,” उनी भन्छन्, “अहिले यही व्यवसायबाट वार्षिक ८ देखि ९ लाख रुपैयाँसम्म कमाइ हुन्छ, र घर खर्च सबै यहीबाट चलेको छ।”

व्यवसाय सुरु गर्दा चुनौतीहरु त थिए नै। गाईपालन गर्दा दूध बिक्री गर्न गाह्रो होला, बजार नपाइएला भन्ने डर थियो। तर, उनलाई त्यति समस्या भएन। अहिले दैनिक ४० देखि ५० लिटरसम्म दूध स्थानीय बजार, होटल र डेरीमा आफैँले पुर्‍याउने गरेको उनले बताए।
मनराजले गाईफार्ममा दुई जनालाई रोजगारी पनि दिएका थिए। तर, उनीहरुले काम छोडेपछि अहिले परिवार मिलेर व्यवसाय सञ्चालन गरिरहेका छन्। गाई र बाख्रालाई दिने घाँसको लागि पनि खासै समस्या नरहेको उनी बताउँछन्। “आफ्नै बारीमा गाईलाई दिने घाँस रोपेका छौँ। एक बिघा जग्गामा धानखेती गर्छौं, त्यहाँबाट पराल आउँछ। घाँस बाहिरबाट खासै किन्नु पर्दैन,” उनले भने।

मौरीपालनमा राम्रो आम्दानी हुने देखेर एक वर्षअघि उनले चार घार मौरी किनेर व्यवसाय सुरु गरेका थिए। अहिले उनीसँग ४० भन्दा बढी घार मौरी छन्। “मौरीपालन अरूले गरेको देखेर सुरु गरेको हुँ। यसमा सम्भावना पनि राम्रो देखेको छु,” उनी भन्छन्, “फूल फुल्ने सिजनमा धेरै मह उत्पादन गर्न सकिन्छ। २२ देखि ३० दिनमा मह काढ्न मिल्छ।” मनराजले मौरीको घार गोटाको १४ हजार रुपैयाँमा किनेका हुन्। एउटा घारमा एक पटक मह काढ्दा ६ केजीसम्म उत्पादन हुने गरेको उनी बताउँछन्। उनी स्थानीय बजारमै मह बिक्री गर्छन्।

मनराजका अनुसार गाउँमै मौरीपालन र परामर्श तालिम किसानले लिन पाए भने मौरीपालनबाट राम्रै आम्दानी गर्न सकिन्छ। गाउँमा नै उत्पादन गरिएको अग्र्यानिक मह बिक्री गरी राम्रो मूल्य लिन सकिने उनको अनुभव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *