‘सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्न जरुरी छ’ : सभामुख घिमिरे

काठमाडौँ, २४ फागुन । सभामुख देवराज घिमिरेले महिलाले राजनीतिक अधिकार प्राप्त गरेतापनि उनीहरुमाथि हुने सामाजिक र सांस्कृतिक विभेद कायमै रहेको बताउनुभएको छ ।

महिलामाथि सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा (८ मार्च) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले पितृसत्तात्मक सोच, लैंगिक भेदभाव, महिला हिंसा, सम्पत्तिमा समान पहुँचको अभावजस्ता समस्या विद्यमान रहेको उल्लेख गर्नुभयो ।

सन्देशमा उहाँले भन्नुभएको छ, “अधिकार कानुनमा मात्र सीमित नहोस्, व्यवहारमा पनि समान अवसरको प्रत्याभूति होस् भन्ने हाम्रो साझा लक्ष्य हुनुपर्छ ।” उहाँले महिला आन्दोलनको ऐतिहासिक योगदानलाई सम्मान गर्दै समतामूलक समाज निर्माणका लागि आह्वान गर्नुभएको छ । महिला दिवस हरेक वर्ष मार्च ८ मा लैङ्गिक समानता, महिला अधिकार र उनीहरूको उपलब्धिहरूको सम्मानका लागि मनाइन्छ । यो दिवसले महिलाले सामना गरेका चुनौतीहरूको स्मरण गर्दै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा उनीहरूको योगदानलाई उजागर गर्ने गरिएको छ ।

नेपालको संविधान र कानुनले महिलाका हक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले संवैधानिक व्यवस्थाअनुसार सङ्घीय, प्रदेश तथा स्थानीय तहमा महिला प्रतिनिधित्वको व्यवस्थासमेत गरिएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *