काठमाडौं महानगरपालिकाद्वारा महिला सम्बन्धित कानुनी प्रबन्धमा सचेतना अभिवृद्धि गर्ने
काठमाडाैं, २६ फागुन । काठमाडौं महानगरपालिकाले महिलाका लागि तर्जुमा भएका कानुनी प्रबन्धका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।
महानगरपालिकाले लक्षित वर्गका कार्यक्रमको प्रभावकारिता बढाउँदै लैजाने र वितरित सेवाको विश्लेषण गरेर पहुँच बढाउने कार्यक्रमलाई प्राथमिकता दिने भएको हाे ।
११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आफ्ना भावी योजना र सम्पन्न भएका कार्यहरूको समीक्षा गर्दै अधिकार लिनका लागि महिलाहरुले ‘अधिकार’ के हो बुझ्न र हिंसा न्यूनीकरणका लागि के गर्दा ‘हिंसा’ हुन्छ, थाहा पाउन आवश्यक रहेको बताउनुभयो।
कार्यपालिका सदस्य महेश नेपालीले आगामी वर्षदेखि विभिन्न क्षेत्रमा ख्याती प्राप्त महिलाहरुलाई महानगर महिला वर्ष व्यक्तिका रुपमा घोषणा गर्ने तथा सम्मानित गर्ने योजना रहेको जानकारी दिनुभयो।
सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले ७,७७५ जना महिलाहरुको स्तन क्यान्सर र ६,६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको जानकारी दिनुभयो।
सामुदायिक विद्यालयमा अध्ययनरत २,२ सय छात्राहरुमा रक्तअल्पताको परीक्षण गर्दा २२० जनामा समस्या देखिएपछि औषधि प्रदान गरिएको थियो। महानगरपालिकाले कानुनी सहजकर्तामार्फत निःशुल्क कानुनी सेवा उपलब्ध गराएको छ। लैङ्गिकताका आधारमा हुने हिंसा नियन्त्रण गर्न वडा महिला सञ्जाल गठन तथा सञ्चालन भएको छ।