न्यायाधीशले विवेकपूर्ण निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

काठमाडाैं, २६ फागुन । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्यायपर्ने गरी निर्णय गर्नुपर्ने बताउनुभएकाे छ ।

अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘दोस्रो महिला न्यायाधीश सम्मेलन–२०८१’ को उद्घाटन गर्दै उहाँले महिला न्यायाधीशको गौरव गरिरहँदा न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयाे ।

प्रधानन्यायाधीश राउतले भन्नुभयाे, “न्यायको उपभोक्तालाई न्यायपर्ने गरी, न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्न जरूरी छ।” महिला न्यायाधीशलाई घर, परिवार र न्याय सम्पादनको काम गर्नुपर्ने जिम्मेवारी भए पनि मेहनत गरेमा सफलता हासिल हुने उहाँले विश्वास व्यक्त गर्नुभयाे ।

नेपालको प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले पछिल्लो तीन वर्षमा महिला न्यायाधीशको उपस्थित राम्रो हुँदै गएको र महिला न्यायाधीशमा क्षमता, साहस र अध्ययन जरूरी भएको बताउनुभयाे । उहाँले न्यायिक निर्णय गर्दा न्याय पर्नेगरी निर्धक्क भएर गर्नुपर्ने र त्यसका लागि महिला न्यायाधीश अब्बल हुनुपर्नेमा जोड दिनुभयाे ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले न्यायको सेवा दिने बेलामा महिला न्यायाधीश मात्रै संवेदनशील हुन्छन् भन्ने नभए पनि महिला न्यायाधीशको उपस्थित महत्त्वपूर्ण भएको बताउनुभयाे। क्षमताको प्रश्न आउँदा महिला न्यायाधीशको मात्रै बढी आउने भएकाले क्षमता अभिवृद्धि र अध्ययनमा बढी ध्यान दिनुपर्ने उहाँकाे भनाइ छ ।

न्यायाधीश समाज नेपालका महासचिव टेकनारायण कुँवरले न्यायिक क्षेत्रमा महिला सहभागिता र न्यायालयमा लैङ्गिक समानता दिलाउन आवश्यक छलफल गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयाे । सम्मेलनमा प्रथम महिला प्रधानन्यायाधीश कार्कीलाई सम्मान गरिएको थियो।