पूर्वराजाको उक्साहटमा भइरहेका गतिविधि रोक्नुपर्छ : एमाले प्रमुख सचेतक बर्तौला
काठमाडौँ, २७ फागुन । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले पूर्वराजाको उक्साहटमा संविधानविपरीतका गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले राजावादीहरूले पञ्चायतकालको राष्ट्रिय गान बजाएकोप्रति आपत्ति जनाएका हुन्।
संविधानको पालना गर्नु सबैको कर्तव्य भए पनि पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहट र निर्देशनमा संविधानविरोधी र राष्ट्रिय हितप्रतिकूलका गतिविधि भइरहेको बर्तौलाले बताए। उनले र्यालीहरूमा विदेशीको फोटो प्रदर्शन गरिएकोप्रति पनि आपत्ति जनाए।
“संविधानको धारा १ मा संविधानको पालना गर्नु सबैको कर्तव्य भनिएको छ। संविधानविपरीत गरिने सबै कार्य दण्डनीय हुने व्यवस्था छ तर पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको नाममा, निर्देशन र उक्साहटमा संविधानविरीतका काम भइरहेका छन्। उनले भने, पञ्चायतकालीन राष्ट्रिय गान गाउनु संविधानविरोधी क्रियाकलाप राष्ट्रहित प्रतिकूलको कार्य हो। लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, निरंशुकतन्त्र हुन सक्दैन।”