राष्ट्रिय सुरक्षा सुदृढ पार्न मौलिक मूल्याङ्कन आवश्यक: प्रधानसेनापति

काठमाडौं, ३ चैत्र । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको मुख्य उद्देश्य राज्यका सबै संयन्त्रको समन्वयबाट राष्ट्रिय हितको प्रवर्द्धन गर्नु रहेको बताएका बताउनुभएकाे छ । उहाँले सुरक्षाका नयाँ अवधारणाबारे जानकारी राख्नु आवश्यक रहेको पनि औंल्याउनुभयाे ।

सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित दशौं समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन समारोहमा बोल्दै प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको अवधारणा समयसँगै परिवर्तन हुँदै गएको बताउनुभयाे । उहाँले राष्ट्रिय सुरक्षाको आधार, क्षेत्र, अभ्यास र विषयवस्तुमा सरोकारवालाबीच साझा धारणा हुनुपर्नेमा जोड दिनुभयाे।

“राजनीतिक, आर्थिक, सामाजिकलगायत मानवीय र वातावरणीय सुरक्षालाई पनि समेटेर मुलुक सुहाउँदो सुरक्षा नीति बनाउन उच्चस्तरीय तालिममा हुने बहस फलदायी हुनसक्छ,” उहाँले भन्नुभयाे। सहभागीहरूबीच आपसी सहयोग र समन्वयका क्षेत्र पहिचान हुने विश्वास व्यक्त गर्दै प्रधानसेनापति सिग्देलले सुरक्षासम्बन्धी नीति निर्माण, निर्णय र कार्यान्वयनमा सहजता हुने बताउनुभयाे।

नेपालको सुरक्षा आयाम विशिष्ट र मौलिक प्रकृतिको भएको उल्लेख गर्दै उहाँले आफ्नो भूगोल, अर्थतन्त्र, जनसङ्ख्या, र स्रोतसाधनलाई विचार गरी कमजोरी, सम्भावना र चुनौतीको विश्लेषण गर्नुपर्ने बताउनुभयाे। “आफ्नो मौलिक धरातलमा उभिएर मूल्याङ्कन गरे मात्र राष्ट्रिय सुरक्षालाई प्रभावकारी बनाउन सकिन्छ,” उहाँले भन्नुभयाे।

कार्यक्रममा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले राष्ट्रिय सुरक्षा, हित र स्वार्थको संरक्षण गर्नु प्रत्येक मुलुकको पहिलो जिम्मेवारी भएको बताउनुभयाे। सुरक्षा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको तथा सुशासन र विकासको पूर्वशर्त भएको उहाँको भनाइ थियो।

कलेजका निमित्त शिक्षाध्यक्ष सहायकरथी मनोज थापाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने सन्दर्भमा आन्तरिक तथा बाह्य चुनौती तथा राज्यका अङ्गहरूबीच समन्वयको आवश्यकतामा तालिम केन्द्रित हुने बताउनुभयाे।

२०७२ सालदेखि सुरु भएको यो तालिममा नीति निर्माण तहमा काम गर्ने राष्ट्रसेवकलाई राष्ट्रिय हित र सुरक्षाका विषयमा गहिरो ज्ञान दिइन्छ। हालसम्म २२२ जनाले यो तालिम पूरा गरिसकेका छन्। दुई साताको यो तालिममा नेपाल सरकारका प्रथम श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रतिनिधि, नेपाल राष्ट्र बैंक, त्रिभुवन विश्वविद्यालय र राससका पत्रकारलगायतको सहभागिता रहेको थियाे।

तालिममा राष्ट्रिय सुरक्षाका आधारभूत विषय, अवधारणा, आन्तरिक तथा बाह्य तत्व, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा आएको परिवर्तन र भूराजनीतिक सम्बन्धहरू तथा त्यसले नेपालजस्ता राष्ट्रलाई पार्ने प्रभावबारे ज्ञान दिइनेछ।