लोकतन्त्रपछि मुलुक समृद्धिका लागि धेरै काम भएका छन् : सभापति देउवा
काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र स्थापना भएपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताउनुभएकाे छ ।
राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष’ पुस्तक हस्तान्तरणका क्रममा सभापति देउवाले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन’ भन्ने नकारात्मक धारणालाई हटाउन आवश्यक रहेको बताउनुभयाे ।
उहाँले मुलुकमा भएका कामका बारेमा जनतालाई जानकारी गराउन जरुरी रहेको र त्यसका लागि राससले प्रकाशन गरेको यस्ता पुस्तकको ठूलो महत्व हुने बताउनुभयाे । पुस्तक हेरेपछि उहाँले भन्नुभयाे, “अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबैले हातेमालो गरी अघि बढौं।”
सभापति देउवाले राससका कामकारबाहीबारे चासो राख्दै पछिल्ला दिनमा राससले प्रभावकारी रूपमा काम गर्दै आएको जानकारी पाएको बताउनुभयाे । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो किताबको विषयमा सभापति देउवालाई जानकारी गराउनुभएकाे थियाे ।