डोल्पाको संस्कृति र सुन्दरता ‘द्रौपदी’ चलचित्रमा, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

काठमाडौं, चैत ५ । निर्देशक ऋषिराज आचार्यको नयाँ चलचित्र ‘द्रौपदी’ ले डोल्पाको संस्कृति र सुन्दरतालाई उजागर गरेको छ। चलचित्रमा डोल्पाका मनोरम दृश्य, स्थानीय कला, संस्कृति, ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई कैद गरिएको छ।

चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसले स्वदेशी तथा विदेशी पर्यटकलाई डोल्पा भ्रमण गर्न आकर्षित गर्ने निर्देशक आचार्यले बताए। मुस्ताङमा एउटा गल्लीको नाम नेपाली चलचित्र ‘जेरी’ बाट राखिएको उदाहरण दिँदै उनले चलचित्रले कला, संस्कृतिसँगै पर्यटनमा पनि टेवा पुर्याउने बताए।

चैत ८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा नेपाल आइडलका रवि ओड र आश्विनी शाहीले अभिनय गरेका छन्। ओडले अभिनयमा रुचि भएकाले चलचित्रमा काम गरेको बताए भने शाहीले आफ्नो जीवनभन्दा फरक पात्र पाएकाले अभिनय गर्न प्रेरित भएको बताइन्। निर्देशक आचार्यले चलचित्रमा नयाँ प्रतिभालाई अवसर दिएको जानकारी दिए।

चलचित्रमा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। सौरभ शर्माले पाश्र्वसङ्गीत, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला र मोहन झिल्लुले छायाङ्कन गरेका छन्।