आईजीपी दीपक थापाले गरे पदभार ग्रहण

काठमाडौं, ५ चैत । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ।
आज गृहमन्त्रालयमा आयोजित एक समारोहका बीच गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।
३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी गए रातिबाट बिदा भइसकेका छन्। थापाले आजैबाट कार्यभार सम्हाल्नेछन्।
थापा २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरू गरेका हुन् उनी भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ सिपाडोलमा जन्मिएका हुन्।
उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन्।