पौवादुङमा गाउँपालिकामा ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान

भोजपुर, ६ चैत । पौवादुङमा गाउँपालिकाले महिलाहरूमा हुने ‘पाठेघर मुखको क्यान्सर’ को पहिचान र रोकथामका लागि विशेष अभियान सुरु गरेको छ।

गाउँपालिकाले बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन यो अभियान थालेको हो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायका अनुसार शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य राखिएको छ। चैत ३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने यस अभियानमा क्यान्सरका बिरामीहरूको खोजी गरिनेछ।

शाखा प्रमुख उपाध्यायले भने, “हामीले अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्याक्सरको परीक्षण थालेका छौँ। यो अभियानअन्तर्गत सबै वडाका महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य छ। परीक्षणका क्रममा रोग देखिएमा उनीहरूलाई उपचारका लागि बाहिरको अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौँ।”

उहाँका अनुसार वडा नं १ श्यामशिलामा एक सय ४४ महिलाको स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ। परीक्षणका क्रममा तीन जनाको स्वास्थ्य अवस्था जटिल देखिएकाले थप परीक्षणका लागि अन्य अस्पताल पठाएको छ। अभियानका क्रममा पाठेघरको मुखको क्यान्सरबाट बच्ने उपाय, रोकथाम तथा उपचार पद्धतिका विषयमा चेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको छ।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन सम्पन्न भएकाले ३० देखि ४५ वर्ष उमेर समूहका महिलालाई लक्षित गरेर स्वास्थ्य परीक्षण थालिएको हो। छवटै वडामा शिविरमार्फत महिलाको स्वास्थ्य परीक्षण गरेर रोगको खोजी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *