चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ, दियो ८९ रनको लक्ष्य

काठमाडौं, २७ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ८९ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए । उनले २५ बलमा दुई चौका र एक छक्का प्रहार गरे । त्यस्तै, विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ चितवनका रञ्जित कुमारले सर्वाधिक तीन विकेट लिए । कप्तान सिकन्दर राजा र कमिल मिसाराले समान दुई तथा रिजन ढकाल र कमलसिंह ऐरीले समान एक विकेट हात पारे ।

यस खेलअघि पाँच खेलबाट पाँच अंक जोडेको चितवन अंक तालिकाको पाँचौँ स्थानमा छ । एक खेल कम खेलेको जनकपुर चार अंकसहित छैटौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *