नारायणघाट– बुटवल सडककाे पूर्वी खण्डमा तीव्र गतिमा काम, वैशाखभित्र दुम्कीबाससम्म कालोपत्रे गर्ने लक्ष्य

काठमाडाैं, ८ चैत । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा तीव्र गतिमा काम भइरहेको छ। चार लेनको सडक निर्माण अन्तर्गत हालसम्म ६५ किलोमिटर खण्डमा ४७ किलोमिटर कालोपत्रे सम्पन्न भएको हाे ।

नारायणघाट–बुटवल सडक आयोजना (पूर्व खण्ड) कार्यालयका अनुसार हालसम्म ५८.७ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। गैंडाकोट क्षेत्रमा १६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने देवचुली नगरपालिका क्षेत्रमा धमाधम कालोपत्रेको काम भइरहेको छ। यस खण्डमा २२ वटा साना पुलहरु निर्माण सम्पन्न भएका छन्।

यद्यपि, निर्माण सम्पन्न भएका पुलहरुमा लिङ्क रोडको काम बाँकी रहेकाले तत्काल सवारी साधन सञ्चालनमा आउन केही समय लाग्ने आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो। विनयी खोलाको पुललाई आगामी मनसुन अगावै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। केही हप्ता अघि अत्यधिक भार बोकेको ट्रकका कारण पुलमा क्षति पुगेपछि डाइभर्सन बनाएर सवारी साधन सञ्चालन गरिएको छ।

सडक विस्तारको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङका सह-व्यवस्थापक राकेश झाले ४२ स्थानमा एकसाथ सडक विस्तारको काम भइरहेको जानकारी दिनुभयो। “हामीले सडक विस्तारसँगै पुल निर्माणलाई पनि प्राथमिकता दिएका छौं,” उहाँले भन्नुभयो, “सडक कालोपत्रे, पुल निर्माण, कल्भर्ट, सब-बेस, बेस, फिलिङ, ड्रेनेज, ग्याबिन जस्ता काममा ६५० भन्दा बढी कामदारहरु परिचालित छन्।” आगामी वैशाख महिनाभित्र दुम्कीबाससम्म कालोपत्रे सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। दाउन्ने क्षेत्रमा पूर्वी खण्डको सबैभन्दा चुनौतीपूर्ण डाँडाको भित्तो कटानको काम पनि पूरा भएको झाले जानकारी दिनुभयो ।