प्रधानमन्त्री कपमा बागमती विजयी, सुर्य पाँच विकेट लिन सफल

काठमाडौँ, ९ चैत । स्पीनर सूर्य तामाङको घातक बलिङको सहयोगमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले शनिबार जित हात प्राप्त गरेको छ ।

दाङको लमहीस्थिति देउखुरी क्रिकेट मैदानमा बागमतील्े कोशी प्रदेशलाई १३१ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९.३ ओभरमा अलआउट भएपनि २४० रनको राम्रो स्कोर बनाएको थियो । कोशी प्रदेश २५.३ ओभरमा १०९ रनमै अलआउट भयो । सुर्यले नौ ओभरमा २७ रन खर्चेर पाँच विकेट लिएपछि कोशी लक्ष्यसम्म पुग्न सकेन । रजन ढकालले तीन र साकार गजुरेलले दुई विकेट लिए । कोशीका लागि आइस भट्टराईले ३७, सुजन थपलियाले २५ र फिर्दोस अन्सारी २४ रन बनाए ।

यसअघि बागमतीका लागि शुभ कंसाकारले छ चौका र एक छक्कासहित ३८ बलमा सर्वाधिक ३९ रन बनाएका थिए । प्रारम्भिक ब्याट्सम्यानद्वय आशुतोष घिरैया (२९) र इशान पाण्डे (२५) ले पनि राम्रो ब्याटिङ गरे । कोशीका लागि सुजन र प्रकाश कार्कीले दुई–दुई तथा ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कंडेल र फिर्दोशले एक–एक विकेट लिए ।