लेक लागेर मुस्ताङमा एक वर्षमा ११ पर्यटकको मृत्यु

मुस्ताङ, १० चैत । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षमा ११ जना पर्यटकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार २०८१ वैशाखदेखि हालसम्म ९ विदेशी र २ नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो।

मृत्यु हुनेमा धेरैजसो भारतीय पर्यटक छन्, जो मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमणका लागि आएका थिए। प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको हो। मृत्यु हुनेहरू ५८ देखि ८१ वर्ष उमेर समूहका थिए।

प्रहरी तथ्याङ्क अनुसार २०८१ वैशाखमा २, जेठमा १, असोजमा २, कात्तिकमा ५ र पुसमा १ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक पनि छन्। २०८० मा लेक लागेर १७ जनाको ज्यान गएको थियो, जसमा ११ विदेशी र ६ नेपाली थिए।

लेक लाग्ने समस्या र यसको समाधानबारे सचेतना फैलाउन जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, स्थानीय तह र प्रदेश अस्पतालले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। प्रदेश स्वास्थ्य कार्यालय र गाउँपालिकाले भित्ते लेखनमार्फत पर्यटकलाई सचेत गराउँदै आएका छन्।

बेँसीबाट उच्च हिमाली क्षेत्रमा हतारमा यात्रा गर्दा लेक लाग्ने सम्भावना बढ्छ। तीन हजार आठ सय मिटरभन्दा माथिको उचाइमा लेक लाग्न सुरु हुन्छ। ज्येष्ठ नागरिक, अशक्त र दीर्घरोगीहरूलाई यो समस्या बढी देखिने गरेको छ।