मकवानपुरको इन्द्रसरोबरमा सिस्नेरी खोलामा डुबेर तीन जनाकाे मृत्यु
काठमाडाैं, १८ चैत । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर आज तीन जना बालकको मृत्यु भएको छ ।
खोलामा नुहाउने क्रममा डुबेर सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फलबारी दाप्चा घर भई सिस्नेरीस्थित मामा घर आएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको हाे ।
इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले मृतक घोरासैनी दुवै दाजु भाई हुन् भने आचार्य मामाका छोरा भएकाे पुष्टि गर्नुभयाे ।
सिस्नेरी बजार पछाडि रहेको खोलामा नुहाउन गएका तीनै जना पौडी खेल्ने क्रममा डुबेका थिए । तीनै जनाको अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पाटन अस्पताल पठाइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।