जितियाको निराहार व्रत समापन
ओगटन’ (दर) खाएर व्रत सुरु
काठमाडौँ, असोज १८ । सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज विधिपूर्वक समापन भएको छ ।
तीन दिनसम्म विभिन्न धार्मिक विधि र परम्परा पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ (दर) खाएर महिलाले व्रत सुरु गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाइधुवाइ तथा पूजाअर्चना गरी व्रत समापन गरेका हुन् ।
व्रतको दोस्रो दिन महिलाले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजाअर्चना गरी सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख समृद्धिको कामना गरेका थिए। पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी निराहार व्रत तोड्ने परम्परा रहेको छ ।
विशेषगरी मिथिला तथा तराई–मधेसका विभिन्न जिल्लामा मनाइने जितिया पर्व काठमाडौँलगायत देशका विभिन्न सहरमा बसोबास गर्ने मैथिल समुदायले समेत श्रद्धापूर्वक मनाउने गरेका छन् ।
जितियालाई हिन्दू धर्मावलम्बी महिलाले मनाउने कठोर व्रतमध्ये एक मानिन्छ। यस अवसरमा महिलाले सन्तानप्रतिको मातृभाव, समर्पण र ममताका साथ एक दिन–एक रात निराहार उपवास बस्ने परम्परा छ। यस्तो व्रत बसेमा सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धि हुने धार्मिक तथा सामाजिक विश्वास रहँदै आएको छ ।
