बाढीपहिरोले देशका विभिन्न सडक प्रभावित, रसुवाका मुख्य राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौँ, १८ असोज । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार रसुवामा असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

मनाङमा असोज १८ गते आएको बाढीका कारण बेँसीसहर हुँदै खाङसारसम्म जाने सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

म्याग्दीमा बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो गएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

नवलपरासीमा कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा असोज १० गते साँझ ७ः३० बजे पहिरो गएपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ।

त्यस्तै, बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा असोज १४ गते दिउँसो ४ः४५ बजे पहिरो गएको थियो। पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइए पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

बाढीपहिरोका कारण अवरुद्ध तथा प्रभावित सडकखण्डमा यातायात सहज बनाउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक मर्मतको काम गरिरहेकाे पनि प्रहरीले जनाएका छन् ।

police road report

Leave a Reply

Your email address will not be published. Required fields are marked *