खेलकुद मन्त्रीलाई आइओसीको पत्र, सरकारी हस्तक्षेप नगर्न अनुरोध
काठमाडौँ, चैत २२ गते । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सम्बोधन गर्दै एनओसी विवाद समाधानतर्फ आइओसी गम्भीर रहेको भन्दै सरकारी हस्तक्षेप नगर्न अनुरोध गरेको छ ।
खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटी (एनओसी)को अवस्थाको बारेमा आइओसीलाई गरेको पत्राचारको जवाफसहित लेखिएको पत्रमा भनिएको छ– हामी तपाईंलाई आश्वस्त पार्न चाहन्छौं कि आइअोसी र ओलिम्कि काउन्सिल अफ एसिया (ओसिए)ले ओलम्पिक आन्दोलन र नेपालका खेलाडीहरूको हितका लागि एनओसीसँग मिलेर काम गरिरहेका छौँ ।
यसैगरी आइओसीले ओसिएको पहलमा एनओसी र नेपालका पाँच खेलकुद संघबिच गत मार्च १० मा कुवेतमा भएको सम्झौताअनुसार एनओसीविरुद्ध मुद्दा हालेका तीन संघले कानुनी कारवाही फिर्ता लिइसकेको र अब ओलम्पिक चार्टर, एनओसी विधान र एनओसी चुनावसँग सम्बन्धित अवस्थालाई चाँडैभन्दा चाँडै स्पष्ट पार्न एनओसीसँग नजिकबाट काम गरिरहेका छौंँ, भनेको छ ।
आइओसीको एनओसी सम्बन्ध, ओलम्पिक सोलिडारिटी एन्ड ओलम्पिजम ३६५ विभागका निर्देशक जेम्स म्याकलियोडले सो पत्र पठाएका हुन् ।