बूढीगण्डकी जलविद्युत् आयोजना: प्रभावित क्षेत्रको मुआब्जा निर्धारण

गोरखा, २ वैशाख । गोरखाको चुमनुब्री गाउँपालिकामा निर्माण हुन लागेको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुने जग्गाको मुआब्जा निर्धारण गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, आयोजनाको प्रवद्र्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच भएको छलफलबाट मुआब्जाको टुङ्गो लगाइएको हो ।

साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार, आयोजनाको बाँध निर्माण हुने क्षेत्र वडा नं ३ सल्लेरीको बस्तीभित्र पर्ने जग्गाका लागि प्रतिआना रु तीन लाख मुआब्जा निर्धारण गरिएको छ । तर, चार आनाभन्दा कम जग्गा हुने प्रभावितले भने प्रतिआना रु चार लाख पाउनेछन् । बस्ती बाहिरको जग्गाका लागि प्रतिआना रु एक लाख ५० हजार मुआब्जा तोकिएको छ । यसअनुसार करिब ८० रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने प्रारम्भिक अनुमान छ ।

घरहरूको मुआब्जा भने तत्काल निर्धारण गरिएको छैन । गाउँपालिकाले खटाएको प्राविधिक टोलीले घरहरूको मूल्याङ्कन गरेपछि त्यसैको आधारमा घरको मुआब्जा तय गरिने पाठकले जानकारी दिनुभयो । आयोजना निर्माणका क्रममा २६ घरधुरी विस्थापित हुनेछन् ।

विस्थापित हुने परिवारलाई पुनःस्थापना गर्ने विषयमा पनि छलफल भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो । उहाँका अनुसार, प्रभावितहरूलाई फिलिम वा जगतमा पुनःस्थापित गर्नेबारे कुराकानी भए पनि अन्तिम निर्णय भइसकेको छैन ।

मुआब्जा निर्धारण सम्बन्धी भेलामा गाउँपालिका अध्यक्ष लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू तथा सल्लेरी, भालुवन, जगत, नाग्चेत लगायतका प्रभावित क्षेत्रका बासिन्दाहरूको उपस्थिति थियो ।

३४१ मेगावाट क्षमताको यो अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना निजी क्षेत्रबाट बन्न लागेको हालसम्मकै ठूलो जलविद्युत् परियोजना हो । साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गरी ६.८ किलोमिटर लामो भूमिगत सुरुङमार्फत धार्चे गाउँपालिका–३ तातोपानीमा रहने पावर हाउसमा पानी पुर्याएर विद्युत् उत्पादन गर्नेछ ।

उत्पादित विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ । आयोजनाको कुल लागत करिब रु ७० अर्ब अनुमान गरिएको छ ।