उसु प्रो फाइट नाइटमा निश्चललाई स्वर्ण
काठमाडौँ, ५ वैशाख । सिक्किमको ग्याङटकमा भएको उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङले स्वर्ण पदक जितेका छन् । सिक्किमका राष्ट्रिय खेलाडीलाई पराजित गर्दै निश्चलले स्वर्ण जितेको टोलीका प्रशिक्षक राजीव महर्जनले जानकार दिए । प्रशिक्षक महर्जनका अनुसार सिक्किमका मुख्यमन्त्रीले निश्चललाई गार्खाली युवा पदकसहित ५० हजार भारतीय रुपैयाँबाट पुरस्कृत गर्नुभयो ।
निश्चलले सिक्किमका मुख्यमन्त्रीबाट युवा खेलाडीको सम्मान पाउँदा हर्ष लागेको बताउदै अझै खेल क्षेत्रमा लाग्न हौसला मिलेको बताए । निश्चलसहित प्रतियोगितामा मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बाँकी ४ खेलाडी मिलन राई, कमल आचार्य, मिलन तामाङ र विनोद श्रेष्ठ दोश्रो हुँदै जनही २०–२० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाए । प्रतियोगिता सिक्किम एमेच्योर उसु संघको आयोजनामा भएको हो ।
प्रशिक्षक महर्जनले ग्याङटकस्थित डेन होम स्टेका सञ्चालक केलन तामाङको सहयोग प्रति आभार व्यक्त गर्दै सिक्किम एमेच्योर उसु संघ र मार्सल आर्ट अर्गनाइजेसन नेपालबीच उसु खेलको विकास र विस्तारका लागि सहमति भएको जानकारी गराए ।