शिक्षकहरूको आन्दोलनले कक्षा १२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौं, ५ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमै सञ्चालन हुने स्पष्ट पारेको छ।
शिक्षकहरूको जारी आन्दोलनका कारण परीक्षा सारिएको भन्दै सामाजिक सञ्जालमा फैलाएकाे सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै बोर्डले परीक्षा नसरेको प्रष्ट्याएको हो।
बोर्डले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यही २०८२ साल वैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।”
बोर्डले परीक्षा जस्तो संवेदनशील विषयमा गलत सूचना फैलाउने कार्य नगर्न सचेत गराएको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, “परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ।”
साथै, बोर्डले परीक्षा सञ्चालनका लागि आवश्यक समन्वय र सहकार्य गरी सहज वातावरण निर्माण गर्न अभिभावक, शिक्षक तथा प्रधानाध्यापकहरूमा हार्दिक अपिल समेत गरेको छ।