पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

काठमाडौं, ८ वैशाख । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० को सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

उक्त दुर्घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएकाे छ भने मृतक र घाइतेको परिचय खुलिनसकेको प्रहरीले जनाएकाे छ ।