कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डको आज बिहान बसेको बैठकले परीक्षा नरोक्ने आधिकारिक निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा निर्धारित मितिमै सञ्चालन हुने कुरा पुष्टि गर्नुभएको छ ।

पछिल्लो समय शिक्षक तथा कर्मचारीहरूको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा जस्ता घटनाक्रमले गर्दा कक्षा १२ को परीक्षा तोकिएको समयमा हुन्छ कि हुँदैन भन्नेमा कतिपय विद्यार्थी तथा अभिभावकहरूमा शंका उत्पन्न भएको थियो ।

तर, आज बिहान सम्पन्न बोर्ड बैठकले सम्पूर्ण जिल्ला परीक्षा समन्वय समितिहरूमार्फत परीक्षा केन्द्र तोकिएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ, जसले परीक्षा हुने कुरा सुनिश्चित गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि विद्यार्थीहरूलाई कुनै अन्योलमा नरही ढुक्क भएर परीक्षाको तयारी गर्न आग्रह गर्नुभएको छ । “परीक्षा हुन्छ । विद्यार्थी भाइबहिनीहरूलाई निर्भीक भएर परीक्षाको तयारी गर्न अनुरोध गर्दछौं,” नियन्त्रक शर्माले भन्नुभयो ।