कक्षा १२ को परीक्षा सञ्चालन गर्न सबै संयन्त्र प्रयोग गरिने, शिक्षक सहभागी नभए विकल्प खोजिने

काठमाडौं, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालनका लागि सबै उपलब्ध संयन्त्र परिचालन गर्ने भएको छ ।

जारी शिक्षक आन्दोलनका कारण परीक्षा व्यवस्थापन र सञ्चालनमा शिक्षकहरू सहभागी नभएको खण्डमा वैकल्पिक जनशक्ति प्रयोग गरेर भए पनि परीक्षा सम्पन्न गर्ने निर्णय बोर्डले गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षा सञ्चालनको योजनाबारे जानकारी दिँदै भने, “संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई निर्देशन दिइनेछ । जिल्लामा परीक्षा समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ र प्रदेशमा बोर्डका कार्यालयहरू सक्रिय छन् । यी सबै निकायको समन्वयमा केन्द्राध्यक्ष खटाएर परीक्षा सञ्चालन गरिनेछ ।”

बोर्डले सबै शिक्षकहरू उपस्थित नभए पनि अन्य कर्मचारीहरूको सहयोगमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । “हामीले शिक्षकहरूलाई परीक्षामा फर्किन आह्वान गरेका छौं र उहाँहरू आउनुहुन्छ भन्ने आशा छ । यदि उहाँहरू आउनु भएन भने, हामीले त्यसको विकल्प पनि तयार गरेका छौं,” नियन्त्रक शर्माले थपे, “स्थानीय तहका कर्मचारी, क्याम्पसका प्राध्यापक/शिक्षक, निजी विद्यालयका शिक्षकहरू पनि हुनुहुन्छ । जिल्लाको आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीले सहज हुने गरी उपयुक्त संयन्त्र प्रयोग गर्न सक्नुहुनेछ ।”

परीक्षा केन्द्रहरूको बाहिरी सुरक्षा व्यवस्थाका लागि विगतमा जस्तै प्रहरी परिचालन गरिने बोर्डले जनाएको छ । यस वर्ष कक्षा १२ को परीक्षामा कुल ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदैछन्, जसका लागि देशभर १ हजार ५९० परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सामान्यतया परीक्षाअघि सञ्चालनमा खटिने जनशक्तिका लागि तालिम दिने गरिए पनि यसपटक शिक्षकहरूको आन्दोलनका कारण उक्त तालिम सञ्चालन हुन सकेको छैन ।
अर्कोतर्फ, शिक्षक महासंघले भने परीक्षा बहिष्कार गर्ने आफ्नो अडान कायमै राखेको छ । “परीक्षा आउन दुई दिन मात्र बाँकी छँदा बोर्डले परीक्षा गर्ने निर्णय गरेको छ । तर हाम्रो शैक्षिक हड्ताल जारी छ र हामी परीक्षामा असहयोग गर्नेछौं,” महासंघका महासचिव तुलाबहादुर थापाले भने ।

उल्लेखनीय छ कि शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरू गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत छन् । यही आन्दोलनका कारण परीक्षा हुने वा नहुने भन्ने अन्योलका बीच राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बैठक बसी परीक्षा निर्धारित मितिमै सञ्चालन गर्ने निर्णय गरेको हो ।