पिएसजी च्याम्पियन्स लिग फाइनल नजिक
लन्डन, १७ वैशाख । पेरिस सेन्ट जर्मन (पिएसजी)ले बुधबार च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई उसकै मैदानमा १–० ले हराएको छ । यस जितसँगै पहिलो पटक च्याम्पियन्स लिग उपाधि जित्ने दाउमा रहेको पिएसजी फाइनलका सङघारमा पुग्यो । अब दोस्रो लेग फ्रान्समा अर्को हप्ता हुनेछ ।
ओसमान डेम्बेलेले खेलको चौथो मिनेटमै गरेको गोलले पिएसजीलाई महत्वपूर्ण जित दिलायो । आर्सनलको मैदानमा थप गोल गर्ने अवसरहरु पाएपनि पिएसजीले जितको अन्तर भने बढाउन सकेन ।
प्रिमियर लिग च्याम्पियन लिभरपुल र एस्टन भिल्लालाई नकआउट चरणमा हराएर अगाडि बढेको फ्रान्सको शीर्ष क्लब पिएसजीले इङ्गल्यान्डको अर्को क्लब आर्सनललाई निराश बनाएको हो । गत अक्टोबरमा भएको लिग चरणमा आर्सनलले पिएसजीलाई २–० ले हराएको थियो । एपी