दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ
दार्चुला, १८ वैशाख । शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो ।
बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिडेन्ट नवौं तहको दरबन्दी स्थापनादेखि रिक्त छ । दुई जना मेडिकल अधिकृत करारमा छन् । “मेडिकल अधिकृतको दरबन्दी भए पनि पुरै समय यहाँ बस्नसक्ने अवस्था छैन्”, नगरपालिकाका स्वास्थ्य संयोजक शिवदत्त जोशीले भन्नुभयो, “सेवा सुविधाको कमीले गर्दा यहाँ बस्न रुचि कमैले देखाउने गरेका छन् ।” तोकिएको तलबबाहेक स्थानीय सरकारले थप बजेट दिएर चिकित्सक टिकाउनुपरेको छ । अस्पतालमा डा मनोजबहादुर पाल र उत्तमसिह धामी मात्रै कार्यरत हुनुहुन्छ ।
राम्रो सेवा सुविधा दिन नगरपालिकाले मात्रै सक्दैन । डाक्टर टिकाउन सेवा सुविधा जरुरी हुने जोशीको भनाइ छ । अस्पतालसँग प्रयाप्त मात्रामा भौतिक पूर्वाधार छैन । आव २०५५÷५६ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदा निर्माण गरिएको भवनबाट सेवा दिनुपरेको छ । तीन शय्या भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै अहिले १५ शैय्यामा पुर्याइएको छ । पूरानै भवनलाई अहिले काम चलाउको रुपमा सञ्चानलमा ल्याइएको स्वास्थ्य संयोजक जोशी बताउनुहुन्छ ।
सडक मार्गले नजिक भएका कारण पनि गोकुलेश्वर अस्पतालमा सेवाग्राही बढी हुने गर्छन् । नगरपालिकाको स्रोतले मात्रै अस्पताल सञ्चानल गर्नमा समस्या भइरहेको छ । अस्पताल सञ्चालनका लागि प्रदेश सरकारबाट सहयोग पनि नपाइएको उहाँको गुनासो छ । छिमेकी जिल्ला बैतडी र दार्चुलाका स्थानीय तहसँगको अन्तरपालिका समन्वय बैठक हुँदा पनि अस्पताल सञ्चालनमा सहयोग जुट्न नसकेको स्वास्थ्य संयोजक जोशी बताउनुहुन्छ । अरु कहिँबाट बजेट र उपकरण सहयोग नआएपछि अस्पतालको अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ ।
यो अस्पतालमा दार्चुलाका लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकाका बिरामी चेकजाँचको लागि आउने गर्छन् । यस्तै छिमेकी जिल्ला बैतडीको डिलाशैनी नगरपालिका, दोगडाकेदार गाउँपालिका, पूर्चौडी नगरपालिका र बझाङको बुङ्गल नगरपालिकाका सेवाग्राही अस्पतालमा पुग्ने गरेका छन् ।
महाकाली राजमार्गसँग जोडिएको शैल्यशिखरबाट जिल्ला अस्पतालसम्म पुग्न तीन घण्टा समय लाग्छ । गोकुलेश्वरमा निको नहुने बिरामी डडेल्धुरा अस्पताल वा धनगढी रिफर गर्न सजिलो हुने भएकाले यहाँको अस्पताल बिरामीका लागि पहिलो रोजाइ बन्ने गरेको अस्पतालका चिकित्सक डा पाल बताउनुहुन्छ । अस्तालसँग भएका उपकरण बिग्रिँदै जानु तथा मर्मतमा समेत कसैले चाँसो नदिँदा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।
यो अस्पताललाई प्रदेश सरकार मातहत लगाउने विषयमा छलफल भइरहेको नगर प्रमुख विजयसिह धामीले बताउनुभयो ।
