गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा
पोखरा, २० वैशाख । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको जीतसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो सेट १९–२५ ले गुमाएको एपीएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै, तेस्रो सेट २३–२५ ले गुमाएको एपीएफले चौथोसेट २५–१४ र पाँचौं सेटमा १५–११ ले जितेर अन्तिम चारमा स्थान बनाएको हो ।
पराजयसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएपछि घरेलु दर्शलाई निराश पारेको छ । एपीएफ पहिलो खेलमा ईरानसँग पराजित भएको थियो । पहिलो खेलमा ईरानसँगै गण्डकी पराजित भएको थियो । प्रतियोगितामा समूह ‘ए’ बाट इरानी टोली विजेता र एपीएफ उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका छन् ।
