इरानको टोलीलाई लायन्स कप भलिबलको उपाधि
पोखरा, २२ वैशाख । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानको टोलीले सोमबार नेपाल पुलिस क्लबलाई ३—१ को सेटमा हराएर जतेको छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । यद्यपि इरान तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले जितेर च्याम्पियन बन्यो । यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई २९–२७, २५–२१, २२–२५ र २५–२३ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब तेस्रो भएको थियो ।
च्याम्पियन इरानी टोलीले ४ लाख ४४ हजार ४ सय ४४ रुपियाँ र उपविजेता बनेको २ लाख ४४ हजार ४ सय ४४ रुपियाँ पुरस्कार प्राप्त गरे । तेस्रो भएको आर्मीले १ लाख ४४ हजार ४ सय प्राप्त गर्यो । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, एपीएफ र आर्मी, दुई विदेशी टिम र गण्डकी प्रदेश गरी छ टोलीको सहभागिता रहकेो थियो ।
