मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
सङ्खुवासभा, २२ वैशाख । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ ।
मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । पन्काओको आइतबार राति मृत्यु भएको हो ।
मृतक एलेक्स हिमालयन गाइड्स नामक ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि पुगेका थिए । तेस्रो क्याम्पसम्म पुगेर बास बस्न दोस्रो क्याम्प फर्किएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
मृतक एलेक्स अन्य तीन विदेशी र चार जना नेपाली नागरिकसहित मकालु हिमाल आरोहणका लागि २७ अप्रिलमा सोलुखुम्बु हुँदै सङ्खुवासभा पुगेको थियो । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल रहेको बताइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ ।
