सिसाको घरबाट ढुंगा नहान्न प्रचण्डलाई योगेश भट्टराईको सुझाव

काठमाडौं, २३ वैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेतालाई ‘सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने’ काम नगर्न सुझाव दिनुभएको छ।

प्रमुख प्रतिपक्षी दल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि गर्नुभएको टिप्पणीको जवाफ दिने क्रममा एमाले सचिव भट्टराईले उक्त आलोचना गर्नुभएको हो।

प्रचण्डले सरकारलाई ‘अप्राकृतिक’, ‘स्वार्थ समूह’, ‘बिचौलिया’ भनी टिप्पणी गरेकोप्रति लक्षित गर्दै भट्टराईले भन्नुभयो, ‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया। उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्।’

उहाँले संविधानको धारा ७६ अनुसार नै प्रचण्ड र केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको उल्लेख गर्दै, एउटै संवैधानिक व्यवस्था अनुसार ओली नेतृत्वमा बनेको सरकार कसरी असंवैधानिक हुन्छ भनी प्रश्न गर्नुभयो।

भट्टराईले झापाको दमकमा निर्मित भ्युटावरको आलोचनालाई पनि अनावश्यक भन्नुभयो। “कुनै अपराध गरेको जस्तो गरेर भ्युटावरको विरोध गरेर गीत नगाउन” उहाँले विपक्षी दलहरूलाई आग्रह गर्नुभयो।

त्यस्तै, तत्कालीन सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको विषयमा प्रचण्डले गरेको विरोधप्रति टिप्पणी गर्दै सांसद भट्टराईले भन्नुभयो, ‘एक जना सहसचिवलाई सरकारले हटाएकोलाई मुटु नै फुटेको जस्तो गर्नुभयो।’ शिक्षक आन्दोलनका विषयमा प्रचण्डले शिक्षकहरूलाई ‘सडक नछोड्न’ भनी दिएको अभिव्यक्तिको पनि भट्टराईले आलोचना गर्नुभयो।