काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण

गलकोट (बागलुङ), वैशाख २५ – काठेखोला गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीतिअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको छ। कुल रु आठ लाख ९० हजार पोषणभत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो।
आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै गएपछि परम्परागत हलगोरु पालन लोप हुन थालेको भन्दै गाउँपालिकाले यो कार्यक्रम ल्याएको हो। अध्यक्ष थापाका अनुसार, गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउन यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। उहाँले यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाउनुभयो।
गाउँपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु साढे दुई अनुदान र वडास्तरमा माइनर ल्याबमार्फत पशु सेवा प्रदान गरिरहेको पनि जानकारी गराइएको छ। गाउँपालिका पशु शाखा प्रमुख होमबहादुर थापाले गोरु पालनले वातावरणमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो।
गाउँपालिका–७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले पोषणभत्ता पाउँदा खुसी व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले किसानलाई प्रोत्साहनका लागि दूधमा अनुदान, निःशुल्क औषधि वितरण र ९२ वटा गाईभैँसीको कृत्रिम गर्भाधानलगायतका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रम र पशुपक्षी फार्म यन्त्रिकीकरणमा पनि सहयोग गरिरहेको छ।