वनहराका मुक्तकमैयाको पौरखले बगर बन्यो हराभरा, तरबुजा खेती आयआर्जनको प्रमुख आधार
कञ्चनपुर, २५ वैशाख । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वनहराका मुक्तकमैया समुदायले नदी किनारको बगरलाई हराभरा कृषिभूमिमा परिणत गरेका छन्।
उनीहरूको अथक परिश्रमले उजाड बगर अहिले तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयाजस्ता फलफूल तथा तरकारीले लटरम्म ढाकिएको छ। १०० भन्दा बढी मुक्तकमैया परिवारले यही बगरमा फलाएको कृषि उपज बिक्री गर्न पूर्वपश्चिम राजमार्ग छेउमा अस्थायी टहरा निर्माण गरेका छन्, जहाँ विशेषगरी तरबुजा र काँक्रो किन्न साँझबिहान ग्राहकको निकै चहलपहल हुने गर्दछ।
विगत ६ वर्षदेखि बगर खेती गर्दै आएका शिवलाल रानाका अनुसार राजमार्ग छेउको यही व्यापारले वर्षभरिको घरखर्च टरेको छ। तरबुजा र अन्य उपज बेचेर दैनिक २ हजारदेखि ३ हजार ५०० रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ। वैशाखदेखि असारसम्मको तीन महिनामा एउटै परिवारले ३ देखि ५ लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको रानाले जानकारी दिनुभयो। “धेरै उत्पादन गर्नेले धेरै कमाउँछन्, थोरै गर्नेको थोरै हुन्छ,” उहाँले भन्नुभयो।
१५ वर्षदेखि बगर खेतीमा संलग्न बिरा रानाको अनुभव पनि उस्तै छ। कमैया मुक्तिपछि पुनःस्थापना हुँदा पाएको १० कट्ठा जग्गाको उब्जनीले चार महिना पनि खान नपुगेपछि केही वर्ष मजदुरी गर्नुभएका उहाँले पछि अरूले बगरमा तरबुजा र काँक्रो रोपेको देखेर सिक्नुभयो। “मजदुरी छाडेर यसैमा भविष्य देख्यौं, अहिले घरखर्च राम्ररी चलेको छ, ऋण लिनुपर्ने अवस्था छैन,” उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो।
यो अभियानमा युवा पुस्ता पनि सक्रिय छ। १४ वर्षीया अस्मिता राना बिहान विद्यालय जान्छिन् र फर्केपछि आमालाई सघाउँदै टहरामा तरबुजा बेच्छिन्। यसबाट हुने आम्दानीले घरखर्चका साथै आफ्नो पढाइ र पोसाकको जोहो हुने गरेको उहाँ बताउनुहुन्छ। यस्तै, ४० वर्षीया पूजा रानाले एक दशकदेखि राजमार्ग छेउमा तरबुजा बेच्दै आउनुभएको छ। उहाँले १० कट्ठामा लगाएको तरबुजाबाट यस वैशाखमा मात्रै ६५ हजार रुपैयाँभन्दा बढी आम्दानी गरिसक्नुभएको छ।
प्रतिकिलो तरबुजा ३० देखि ४० रुपैयाँमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
थेग्रा रानाका अनुसार बीउबिजन र मलमा ३० देखि ४० हजार रुपैयाँ लगानी गर्दा वार्षिक ५ लाख रुपैयाँभन्दा बढी मुनाफा हुन्छ। उहाँले यसै महिना २० क्विन्टल काँक्रो र ६० क्विन्टल तरबुजा बिक्री गरिसक्नुभएको छ।
नन्दलाल राना भन्नुहुन्छ, “बिहान टिपेको तरबुजा र तरकारी साँझ नपर्दै सकिन्छ। गर्मीले गर्दा माग पनि बढेको छ। अन्यत्र लैजाँदा ढुवानी खर्च र श्रम लाग्ने भएकाले राजमार्गमै बेच्न सजिलो भएको छ।” पहिले इँटाभट्टामा काम गर्ने तौला राना पनि बगर खेतीको आम्दानी देखेर यसतर्फ आकर्षित हुनुभएको हो। वनहराका मुक्तकमैयाले आफ्नो उत्पादनलाई प्राथमिकता दिन बाहिरका व्यापारीलाई यहाँ तरबुजा बेच्न नदिने नियम बनाएका छन्।
अमरपुरका ग्राहक अमरबहादुर ऐर वनहराको तरबुजा रसिलो र मीठो हुने भएकाले हरेक वर्ष किन्न आउने गरेको बताउनुहुन्छ। “अरू ठाउँको भन्दा यहाँको तरबुजा मीठो र सस्तो पनि पाइन्छ,” उहाँले भन्नुभयो। यसरी, वनहराका मुक्तकमैयाको सामूहिक प्रयास र परिश्रमले उनीहरूको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएको छ ।
