‘तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक’

कैलाली, २५ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले आज धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तरक्रिया एवं नीति, कार्यक्रम तथा बजेटसम्बन्धी छलफल कार्यक्रमको आज उहाँले उद्घाटन गर्नुभयो ।

एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्दै जाने उहाँले बताउनुभयो । “बजेट निर्माणमा सधैँ हामीले त्रुटी गरिरहने र जनताले गुनासो गरिरहने परिपाटीलाई पटकपटक दोहोर्याउने होभने सङ्घीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले कार्यसूची प्रस्तुतिसहित स्वागत मन्तव्य राख्नुभयो ।