दुई सातासम्म वर्षाको सम्भावना, मनसुन चाँडै भित्रिन सक्ने संकेत

काठमाडौँ, ४ जेठ । भारतको अण्डमान तथा निकोबार द्वीप समूहमा वैशाख ३० गते नै र श्रीलंकामा पनि मे १७ मा (सरदरभन्दा ९ दिन अगाडि) मनसुन भित्रिसकेको छ। यो क्रम विस्तार हुँदै श्रीलंकाको मध्यक्षेत्रसम्म पुगेको भारतीय मौसम विभागले जनाएको छ।

नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको सक्रिय प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो १२ घण्टामा स्याङ्जामा १११.४ मिमि, चितवनको शक्तिखोरमा ९३.८ मिमि र कास्कीको लामापाटनमा ५० मिमि वर्षा रेकर्ड भएको छ। केही स्थानमा मध्यम वर्षाले नै क्षति पुर्‍याएको छ; काभ्रेपलाञ्चोकको पनौतीमा एक महिला बेपत्ता छिन् भने रोशी तटीय क्षेत्रमा बाढी आएको छ।

मौसमविद् विनोद पोखरेलले विभिन्न मोडलहरूको विश्लेषणका आधारमा आगामी दुई साता (जेठ १८-२० सम्म) नेपालभर मौसम सक्रिय रहने र धेरै क्षेत्रमा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरेका छन्। उनका अनुसार हालको वर्षा र हावाको ढाँचा मनसुनी वर्षाजस्तो देखिए पनि यसलाई आधिकारिक रूपमा मनसुन घोषणा गरिएको छैन।

नेपालमा मनसुन भित्रिनेबारे जल तथा मौसम विज्ञान विभागले आधिकारिक घोषणा गरिसकेको छैन। सामान्यतया नेपालमा जुन १० (जेठ २७) मा मनसुन भित्रिने गरे पनि यस वर्ष छिमेकी मुलुकहरूमा चाँडै सुरु भएकाले नेपालमा पनि सरदरभन्दा छिटो मनसुन भित्रिन सक्ने अनुमान गरिएको छ।

प्रि-मनसुन (फागुन १७ देखि जेठ १७) अवधिमा नेपालमा सरदर २२६.३ मिलिमिटर वर्षा हुने अनुमान गरिन्छ। हाल जेठ २ गतेसम्म १५३.९० मिलिमिटर (सरदरको ६७.२ प्रतिशत) वर्षा भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *