नेपाल महिला टि२० विश्वकपको ग्लोबल क्वालिफायरमा

काठमाडौँ, ५ जेठ । नेपाली महिला क्रिकेट टिमले सोमबार आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेर इतिहास बनाएको छ । नेपालले सुपर थ्रीमा युएइलाई पाँच विकेटले हराएर आइसिसी महिला टि२० विश्वकप एसिया छनोट पार गर्यो । नेपाल पहिलो पटक महिला टि२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको हो ।

थाइल्यान्डको बैंककस्थित तडथाइ क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु वर्माले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन् । कप्तानको निर्णयलाई सही सावित गर्दै नेपाली बलरहरुले युएईलाई सामान्य स्कोरमा रोक्यो । युएयले निर्धारीत २० ओभरमा सात विकेटको क्षतिमा ११४ रन बनाएको थियो । कप्तान इन्दुले प्रेरणादायी पालि खेल्दै अविजित ३० रन बनाएपछि नेपालले तीन बल बाँकी छँदै पाँच विकेटको क्षतिमा ११५ रन बनाएर जित हात पार्यो ।

नेपालकी प्रारम्भिक ब्याटर सम्झना खड्काले पनि २१ रन बनाएर नेपाललाई राम्रो सुरुआत दिलाएकी थिइन् । अनुभवी ब्याटर रुविना क्षेत्रीले पनि १८ बलमा २३ रन बनाएर उपयोगी योगदान दिइन् । अनय ब्याटरमा राजमीत ऐरीले ८, कविता कुँवरले ५, पुजा महतोले १३ र रुवि पोडारले अविजित ६ रन बनाए ।

युएइका लागि मिचेल बोथा, सुरक्षा कोटे, वैश्नभी महेस र इशा ओजाले एक÷एक विकेट लिए । यसअघि, युएयको पालिमा कप्तान इशाले नै सर्वाधिक ३९ रन बनाएकी थिइन् । यसैगरी तिर्था सतीशले २१ र हिना होचन्दानीले २० रनको पालि खेलेकी थिइन् ।

यस प्रतियोगितामा पहिलो पटक खेल्द गरेकी स्पीनर मनिषा उपाध्यायले चार ओभरमा २० रनसहित चार विकेट लिएर नेपालको जितमा महत्वपूर्ण योगदान दिएकी छन् । यसैगरी कविताले दुई तथा राजमतीले एक विकेट लिए ।

सुपर थ्रीमा नेपालले मङगलबार थाइल्यान्डसँग खेल्नेछ । सो खेलमा जुनसुकै नतिजा आएपनि नेपाल र थाइल्यान्डलाई फरक पर्ने छैन । थाइल्यान्डले पनि ग्लोबल छनोटमा स्थान बनाइसकेको छ ।