आगामी निर्वाचनमा एमालेको एकल बहुमत ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा पार्टीको एकल बहुमत आउने गरी सक्रिय हुन उत्पीडित तथा जातीय समुदायका नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले मुलुकलाई विकास र सुशासनको मार्गमा तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “समानुपातिकसहितको विद्यमान निर्वाचन प्रणालीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ । तर, हामीले संविधानमा यो व्यवस्था गरिसकेकाले यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकास गर्न लाग्नुपर्छ ।”

उहाँले थप्नुभयो, “हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि काम गरिरहेका छौँ । अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुस्मन हो । विपक्षीहरूले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।”

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि सबैलाई आग्रह गर्नुभयो । महाधिवेशनले समाजको नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।