अर्थमन्त्रीले बोलाए गभर्नर सिफारिस समितिको बैठक, आजै मन्त्रिपरिषद् बैठक पनि

काठमाडौं, ६ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाउनुभएको छ। लामो समयदेखि बस्न नसकेको यो समितिको बैठक आज बस्न लागेको हो।

यसैबीच, प्रधानमन्त्रीले आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाउनुभएको अर्थमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

गभर्नर सिफारिस समितिमा अर्थमन्त्री पौडेल संयोजक रहनुभएको छ भने सदस्यहरूमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे हुनुहुन्छ।

यसअघि, समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि समिति पुनर्गठन गरिएको थियो। डा. पौडेल राजीनामा दिएर आफैँ गभर्नरको दौडमा सामेल हुनुभएको छ। पहिलो पटक गठन भएको समितिका सदस्य डा. विजयनाथ भट्टराईले पनि बैठक बस्न नसकेको भन्दै राजीनामा दिनुभएको थियो।

पुनर्गठनपछिको यो पहिलो बैठकले एकजना डेपुटी गभर्नरसहित तीन जनाको नाम गभर्नरका लागि सिफारिस गर्नेछ।