गभर्नर नियुक्तिको चर्चासँगै नेप्से परिसूचकमा उत्साहजनक वृद्धि, ४९ अङ्कले उक्लियो
काठमाडौं, ६ जेठ । नयाँ गभर्नर नियुक्तिको चर्चासँगै आज सेयर बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा पुगेको हो । यो वृद्धि १ दशमलव ८६ प्रतिशत हो ।
आज बजारमा तीन सय १० कम्पनीको एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता शेयर कुल ७३ हजार ५४ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ । यस क्रममा रू सात अर्ब ३१ करोड २७ लाख ९० हजार एक सय ९६ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका सबै समूहका उपसूचकहरू आज हरियाली छाएका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.४२ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, बैंकिङ समूह १.९१ प्रतिशत, विकास बैंक २.९५ प्रतिशत, वित्त कम्पनी २.४४ प्रतिशत, जलविद्युत् २.४५ प्रतिशत र लगानी समूह २.३३ प्रतिशतले बढेका छन् । यस्तै, जीवन बीमा १.३२, उत्पादन तथा प्रशोधन १.८९, लघुवित्त १.१३, म्युचुअल फन्ड ०.३३, निर्जीवन बीमा १.७४, व्यापार १.४९ र अन्य समूह ०.८४ प्रतिशतले उकालो लागेका छन् ।
आज सिन्धु विकास बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अर्कोतर्फ, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ३.०९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो, जसको रू ४१ करोड ८० लाख बराबरको शेयर किनबेच भयो । कारोबार भएको शेयर संख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको १४ लाख ७२ हजार तीन सय कित्ता सर्वाधिक खरिदबिक्री भएको छ ।