नागरिकको निक्षेप सुरक्षा र वित्त नीतिलाई सहयोग गर्नु राष्ट्र बैंकको प्राथमिकता: नवनियुक्त गभर्नर डा. पौडेल
काठमाडौँ, ७ जेठ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सघाउने गरी राष्ट्र बैंकले आफ्ना कामकारबाही अगाडि बढाउने बताउनुभएको छ।
आज वालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले राष्ट्र बैंकको स्वायत्ततालाई अक्षुण्ण राख्दै कार्यसम्पादन गर्ने स्पष्ट पार्नुभयो। “वित्त नीतिबाट तय भएका लक्ष्यहरूलाई सफल पार्न मौद्रिक नीतिले सहयोग पुर्याउँछ,” गभर्नर पौडेलले भन्नुभयो, “नियमन र सुपरीवेक्षण हाम्रो अर्को महत्वपूर्ण कार्य हो। धेरै नियम बनाएर कसिलो पार्नुभन्दा पनि सुपरीवेक्षण क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ। यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनु जरुरी छ।”
उहाँले बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्ने बताउनुभयो।
साथै, राष्ट्र बैंकले कुनै पनि निर्णय लिँदा सम्बन्धित सरोकारवाला निकायहरूसँग पर्याप्त समन्वय र संवाद गर्ने उहाँको भनाइ थियो। “नीति निर्माण प्रक्रिया संवादमा आधारित हुनुपर्छ। म एक्लैले कुनै प्रस्ताव ल्याएर कार्यान्वयन गर्ने पक्षमा छैन। सबै सरोकारवालाहरूसँग विस्तृत छलफल गरेर मात्र अघि बढ्नेछौँ,” उहाँले थप्नुभयो।
पदभार ग्रहणलगत्तै नवनियुक्त गभर्नर डा. पौडेलले रु ५०० र रु १००० दरका बैंक नोट छपाइसँग सम्बन्धित पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ।