नेपाल विद्युत प्राधिकरणद्वारा दैनिक २०० मेगावाटसम्म बिजुली भारत निर्यात सुरु

काठमाडौं, ७ जेठ । नेपाल विद्युत प्राधिकरणले खोलानालामा पानीको बहाव बढेसँगै जलविद्युत उत्पादनमा वृद्धि भएपछि  भारततर्फ विद्युत निर्यात गर्न थालेको छ।

प्राधिकरणले गएको शनिबारदेखि औपचारिक रुपमा विद्युत निर्यात सुरु गरेको हो। प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारका अनुसार हाल दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत भारततर्फ निर्यात भइरहेको छ।

प्रवक्ता सिल्पकारले विशेषगरी रातको समयमा मुलुकभित्र खपत भई अतिरिक्त भएको विद्युत भारत निर्यात गरिएको जानकारी दिनुभयो। यद्यपि, मागअनुसार अपुग भएको समयमा प्राधिकरणले भारतबाट विद्युत आयात पनि गरिरहेको छ।

इन्डियन एक्सचेन्ज मार्केट मार्फत विशेषगरी बिहान र दिउँसोको समयमा आवश्यकताअनुसार विद्युत खरिद भइरहेको प्राधिकरणले जनाएको छ।

यो कदमले नेपालको जलविद्युत क्षमताको सदुपयोग हुनुका साथै विदेशी मुद्रा आर्जनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ। वर्षायाममा जलविद्युत आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालन हुँदा उत्पादन बढ्ने र आन्तरिक मागभन्दा बढी भएको बिजुली निर्यात गर्ने नीति प्राधिकरणले लिएको छ।