तिहारमा १० लाखको सयपत्री बेच्ने तयारीमा आँधीमूलका महिला

तनहुँ, ९ कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यान्चोकका महिलाले यस वर्षको तिहारमा १० लाख रुपैयाँ मूल्यको सयपत्री फूल बिक्री गर्ने लक्ष्य लिएका छन्। सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका उनीहरूले गत वर्ष नौ लाख रुपैयाँ बराबरको फूल बिक्री गरेका थिए।

तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी सयपत्री फूलले पहेँलपुर बनेका छन्। त्यहाँका महिला अहिले फूल टिप्ने, बिक्रीका लागि तयारी गर्ने र भण्डारण गर्ने काममा व्यस्त छन्। टिपिएका फूललाई बिक्री गर्दासम्म ताजा राख्न चिस्यान केन्द्रमा भण्डारण गरिएको समूहकी अध्यक्ष सुन्तली गुरुङले बताइन्।

तीन वर्षअघि स्थानीय महिलाले सुरु गरेको व्यावसायिक सयपत्री फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ। यसमा ४५ जना महिला आबद्ध छन्। सामूहिक फूलखेती उनीहरूका लागि आम्दानीको स्रोत मात्र नभई आर्थिक आत्मनिर्भर बन्ने अवसरसमेत बनेको गुरुङले बताइन्।

फूलको उत्पादन बढेसँगै बजारबाट माग आउन थालेको छ। पहिलो चरणमा टिपिएको फूलमध्ये ५० किलोको माग आएको थियो। दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले उक्त फूल खरिद गरिसकेकी छन्।

गुरुङका अनुसार सयपत्री फूल प्रतिकिलो ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। उत्पादन र बजार विस्तार गर्न सके महिलाको आम्दानी थप बढाउन सकिने उनको भनाइ छ। स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउनसमेत सहयोग पुगेको उनले बताइन्।

तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले महिलाले उत्पादन, भण्डारण र बिक्रीलाई सोहीअनुसार व्यवस्थापन गरिरहेका छन्। चिस्यान केन्द्रमा फूल राख्ने व्यवस्थाले बिक्रीका लागि तयार पारिएको फूल ताजा राख्न सहयोग पुगेको समूहले जनाएको छ।

आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार व्यावसायिक फूलखेतीका लागि बजारको समस्या छैन। स्थानीय महिलाले उत्पादन गरेको फूलको माग बढ्दै जानुले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको उनले बताए।

तिहारमा घर, मठमन्दिर र सार्वजनिकस्थल सजाउन सयपत्री फूलको व्यापक प्रयोग हुन्छ। चाडपर्वमा बढ्ने मागलाई लक्षित गरी गरिएको आँधीमूलका महिलाको सामूहिक फूलखेतीले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै ग्रामीण महिलाको आयआर्जन बढाउने सम्भावना देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *