कोशी प्रदेशमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै, मुख्यमन्त्री कार्कीको चिन्ता

विराटनगर, जेठ ७ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जलवायु परिवर्तन र विकास निर्माणका कमजोरीका कारण प्रदेशमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश र पूर्वी पृतना हेडक्वाटर सुनसरीको संयुक्त आयोजनामा सञ्चालित ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को दोस्रो दिन विराटनगरमा भूकम्प तथा आगलागीको पूर्वअभ्यास गरिएको थियो।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले विपद्को समयमा जनजीवनको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकारले नीति, कानुन निर्माण गरी विपद् व्यवस्थापनका लागि सचेतना कार्यक्रम र स्रोतसाधनको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आधुनिक प्रविधि र तालिम प्राप्त जनशक्तिको प्रयोग गर्दै झापाको अर्जुनधारा र मोरङको रङ्गेलीमा ‘कोशी प्रदेश विपद् व्यवस्थापन केन्द्र’ निर्माण सुरु भएको जानकारी दिनुभयो।
दुई दिने अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारी गरी ९० जनाको सहभागिता रहेको थियो। अभ्यासमा भूकम्प र आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि उद्धार र राहत कार्यको अभ्यास गरिएको थियो।