पतञ्जली जग्गा प्रकरण: लेखा समितिले फाइल अख्तियार पठाउने

काठमाडौं, ८ जेठ । संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको भनिएको अनियमिततासम्बन्धी फाइल थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ।

समितिको बिहीबार बसेको बैठकले विभिन्न निकायबाट सङ्कलित कागजात र विवरणहरू अख्तियारलाई जिम्मा लगाउने निर्णय गरेको हो।

समितिका सभापति ऋषिकेश पोखरेलले भने, “पतञ्जलीबारे लेखा समितिमा आएको उजुरीका आधारमा विभिन्न निकायहरुबाट सोधपुछ गरी विवरणहरु मगाएका थियौं। त्यससम्बन्धी प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको हो।”

गत वर्ष समितिले पतञ्जली योगपीठले हदबन्दी छुटमा पाएको जग्गा सट्टापट्टा गर्दा अनियमितता भएको भनी परेको उजुरीमाथि छानबिन थाल्दै विभिन्न निकायसँग कागजात र विवरण मागेको थियो। यद्यपि, समितिले ती कागजातमाथि थप कुनै अध्ययन वा सोधपुछ नगरी सिधै अख्तियार पठाउन लागेको हो।

उल्लेखनीय छ, पतञ्जली योगपीठको जग्गा अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै अनुसन्धान गरिरहेको थियो। तर, अनुसन्धान प्रक्रिया सकिए पनि अख्तियारले यस सम्बन्धमा कुनै ठोस निर्णय नगरी निष्क्रियता देखाएको बताइएको छ। लेखा समितिको यो कदमले उक्त प्रकरणलाई पुनः सतहमा ल्याएको छ।