एन्फा कार्यालयको ताला खुल्यो, कात्तिक १३ गते कार्यसमिति बैठक बस्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको एन्फा कार्यालयको ताला खोलेका छन् ।
नेपाली फुटबललाई पुनः चलायमान बनाउने उद्देश्यसहित वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलेका हुन् ।
ताला खोलेसँगै उनीहरूले आगामी कात्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने जानकारी दिएका छन् । एन्फाको विधानअनुसार एकतिहाइभन्दा बढी सदस्यले बैठक बोलाउन माग गरेको २१ दिनसम्म बैठक आह्वान नभएपछि २२औँ दिनमा ताला खोलेर बैठक बस्ने विषयमा छलफल गरिएको वरिष्ठ उपाध्यक्ष खड्काले बताउनुभयो ।
उहाँका अनुसार फिफाले लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य तथा तहगत निर्वाचनमा देखिएका अवरोध हटाउने विषयमा छलफल गर्न बैठक बोलाउन लागिएको हो । नेपाली फुटबल क्षेत्रमा देखिएको विवादको निकास खोज्नु बैठकको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
खड्काले कात्तिक १३ गते हुने बैठकमा एन्फा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायत सबै कार्यसमिति सदस्यलाई उपस्थित भएर नेपाली फुटबलको समस्या समाधानका लागि छलफल गर्न आग्रह गर्नुभएको छ ।
बैठकको उद्देश्य कसैलाई पदबाट हटाउने वा निषेध गर्ने नभई नेपाली फुटबलमा देखिएका अवरोध हटाएर निकास खोज्नु रहेको उहाँको भनाइ छ ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि नेपाली फुटबल क्षेत्र ठप्प रहेको छ । एन्फा सदस्यहरूले पछिल्लो विवाद समाधान गरी फुटबल गतिविधिलाई पुनः सञ्चालनमा ल्याउने प्रयासस्वरूप बैठक बोलाउन लागेका हुन् ।
