नेपाल–भारत सीमा सुरक्षा बैठक सुरु, तस्करी र अवैध गतिविधि नियन्त्रणमा जोड

काठमाडौं, ११ कात्तिक । सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुई देशका सुरक्षा निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच १०औँ द्विपक्षीय समन्वय बैठक सुरु भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गर्नुभएको छ । नेपाली टोलीमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधि सहभागी छन् ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गर्नुभएको छ । बैठकमा भारतको गृह मन्त्रालय, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च अधिकारी सहभागी छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बैठकमा सीमा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने, अवैध गतिविधि नियन्त्रण गर्ने, मानव तस्करी तथा लागुऔषध ओसारपसार रोक्ने, अवैध हातहतियार र अन्य सामग्रीको तस्करी नियन्त्रण गर्ने तथा सीमावर्ती क्षेत्रमा शान्ति र सुव्यवस्था कायम गर्ने विषयमा छलफल हुनेछ ।

दुई दिनसम्म चल्ने बैठकमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण र सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि भइरहेका प्रयासको समीक्षा गरिनेछ । सीमापार फैलिन सक्ने महामारी तथा विपद्को जोखिम न्यूनीकरण गर्न नियमित बैठक र तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

बैठकमा नेपाल–भारत खुला सिमानाको प्रयोग गरी तेस्रो मुलुकका नागरिकले गर्न सक्ने अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने विषयले पनि प्राथमिकता पाउनेछ । सीमा व्यवस्थापनलाई चुस्त, प्रभावकारी र आधुनिक बनाउन उपयुक्त प्रविधिको प्रयोग तथा दुवै सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने विषयमा समेत विचारविमर्श हुनेछ ।

त्यस्तै, विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संयुक्त सहकार्य प्रभावकारी बनाउने र सीमा नाकामा यात्रुको सहजताका लागि थप सहायता कक्ष स्थापना गर्ने विषयमा छलफल गरिनेछ ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन तथा दुई देशका सुरक्षा निकायबीच आपसी विश्वास र सहकार्य बढाउन मैत्रीपूर्ण खेलकुदलगायतका गतिविधि सञ्चालन गर्ने विषय पनि बैठकको एजेन्डामा छ ।

सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने समस्या तथा चुनौतीको समयमै पहिचान र समाधान गर्न नियमित सम्पर्क, प्रभावकारी सूचना आदानप्रदान र संस्थागत समन्वयलाई निरन्तरता दिने विषयमा पनि छलफल हुनेछ ।

बैठकले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुवै देशका सुरक्षा निकायबीचको समन्वय र सहकार्य प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *